राष्ट्रिय कला संग्रहालयको ६६औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
भक्तपुर, असार १७, २०८३
राष्ट्रिय कला संग्रहालय, भक्तपुरको ६६औँ वार्षिकोत्सव बुधबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, इतिहासविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ, इतिहासविद् विश्वमोहन जोशी, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा लगायत संग्रहालय प्रमुख, कार्यालय प्रमुख, सुरक्षा निकाय, सञ्चारकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सभापति सौभाग्य प्रधानाङ्गले ‘सम्पदा र संग्रहालय’ विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो भने सन्दिप खनालले ‘संरक्षित स्मारक क्षेत्रको व्यवस्थापन’ विषयमा महत्वपूर्ण प्रस्तुति राख्नुभएको थियो । साथै गौतमप्रसाद लासिवाले ‘समुदाय र संग्रहालय’ तथा दिपेशराज शर्माले ‘Museum and Hospitality’ विषयमा प्रस्तुति दिनुभएको थियो ।
जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको तर्फबाट आगलागी तथा सुरक्षा सम्बन्धी आधारभूत तालिम सञ्चालन भएको थियो ।
संग्रहालय प्रमुख जयन्ती श्रेष्ठ (प्रधान) ले 'संग्रहालय सुरक्षा' विषयमा प्रस्तुति दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो । त्यस अवसरमा उहाँले पूर्व संग्रहालय प्रमुख मोहन सिंह लामासँग संयुक्त रूपमा तालिममा सहभागी कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा संग्रहालय प्रमुख जयन्ती श्रेष्ठ (प्रधान) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राजन सिंहले गर्नुभएको थियो।