महिषासुरमर्दिनी अंकित काष्ठद्वार

None

राष्ट्रिय कला  संग्रहालय, लाल बैठकको भुइँतल्लामा अवस्थित १७औँ शताब्दीको उत्तरार्धतिरको यो अलंकृत काष्ठद्वार मल्लकालीन नेवारी काष्ठकलाको उत्कृष्ट नमुना हो । भक्तपुर दरबार क्षेत्रस्थित लाल बैठकको छिंड़ीमा मुख्य प्रवेशद्वारको रुप देखिने  यस काष्ठद्वारले तत्कालीन धार्मिक दर्शन, पौराणिक आख्यान तथा उच्चस्तरीय शिल्प परम्पराको समन्वित अभिव्यक्ति प्रस्तुत गर्दछ। यसको समग्र संरचनामा door frame, primary jambs, secondary jambs, colonettes, lintel, threshold तथा extended spandrel panels मा अत्यन्त सूक्ष्म र उच्चकोटिको काष्ठ कुँदाइ गरिएको छ, जसले मल्लकालीन नेवार कलाकारहरूको असाधारण प्राविधिक दक्षता र सौन्दर्य चेतनालाई उजागर गर्दछ ।

द्वारको केन्द्रीय भागमा अठार भुजायुक्त महिषासुरमर्दिनी दुर्गालाई महिषासुरमाथि विजय प्राप्त गर्दै गरेको गतिशील मुद्रामा अंकित गरिएको छ। देवीका विभिन्न हातहरूमा खड्ग, चक्र, शक्ति, कपालपात्र लगायतका आयुधहरू रहेका छन्। एउटा हातले महिषासुरको केश समातेको र अर्को हातले शक्तिप्रहार गरेको दृश्यले अधर्म माथि धर्म तथा अज्ञान माथि ज्ञानको विजयको प्रतीकात्मक अभिव्यक्ति दिन्छ। देवीको दायाँ खुट्टा सिंहवाहन माथि तथा बायाँ खुट्टा महिषासुर माथि रहेको छ। देवीका दुवैतर्फ गणेश र कुमारका साथै पुष्पमाला अर्पण गरिरहेका विद्याधरहरु कुँदिएका छन्, जसले दैवी विजय र सम्मानको भाव व्यक्त गर्दछन् ।

Lintel मा करिब दुई मिटर लम्बाइमा रामायणका बाह्र क्रमिक दृश्यहरू उत्कृष्ट आख्यानात्मक शैलीमा कुँदिएका छन्। यी दृश्यहरूमा रामद्वारा स्वर्णमृगको वध, रावणद्वारा सीताहरण, जटायुसँगको युद्ध, सुग्रीवसँगको मैत्री, बालीवध, सेतुबन्ध निर्माण, लङ्कापुरी प्रवेश, कुम्भकर्णवध, रावणवध, विभीषणको राज्याभिषेक तथा अन्त्यमा राम, सीता, लक्ष्मण र हनुमानको पुनर्मिलनसम्मका महत्वपूर्ण प्रसङ्गहरू क्रमबद्ध रूपमा प्रस्तुत गरिएका छन्। यस प्रकारको narrative relief carving ले धार्मिक आख्यानलाई दृश्य माध्यमद्वारा प्रस्तुत गर्ने मल्लकालीन कलात्मक परम्परालाई प्रतिबिम्बित गर्दछ।

Primary jambs तथा secondary jambs मा विविध धार्मिक तथा शुभ प्रतीकहरू कुँदिएका छन्। बायाँ jamb मा हाती, सिंह, व्याघ्र, पखेटायुक्त अश्व, पक्षी, कमल, पुष्पलता तथा वाद्यवादक मानव आकृतिहरू अंकित छन् भने दायाँ jamb मा सूर्यदेवको रथ, नागबन्ध, मकर तथा कुमारको आकृतिहरू कुँदिएका छन्। Colonettes मा पुष्पलता, कमल तथा जनावरहरूको सजावटी  सुन्दर रूपमा कुँदिएका छन्। Lintel cornice माथि अवस्थित कीर्तिमुख बाट निस्कने पुष्पलताले सृष्टि, उर्वरता, पुनर्जन्म तथा अनन्त जीवनचक्रको प्रतीकात्मक अर्थ व्यक्त गर्दछ। मकर, नाग, सिंह तथा अन्य धार्मिक आकृतिहरूले सम्पूर्ण द्वारको संरक्षण तथा मंगलमय पक्षलाई सुदृढ बनाएका छन् ।

द्वारको दायाँ extended spandrel panel मा अष्टभुज भैरवलाई खड्ग, ढाल तथा कपालपात्र धारण गरेको स्वरूपमा अंकित गरिएको छ। उनका चरणमुनि वेतालहरू तथा युद्धदृश्यहरू कुँदिएका छन् । Threshold को विस्तारित भागमा हनुमानद्वारा राक्षससँग युद्ध गरेको तथा वानर–राक्षस द्वन्द्वका दृश्यहरू अंकित छन्, जसले रामायणको युद्ध प्रसङ्गलाई निरन्तरता दिएका छन् । सम्पूर्ण द्वारमा धार्मिक, तान्त्रिक तथा पौराणिक प्रतीकहरूलाई सन्तुलित रचनात्मक संयोजनमा प्रस्तुत गरिएको छ ।

यस काष्ठद्वारको अलङ्कारिक सजावटमा हिन्दू धार्मिक विश्वास, तान्त्रिक प्रतीकवाद, पौराणिक आख्यान तथा नेवारी काष्ठकलाको परिष्कृत शैली समन्वित रूपमा अभिव्यक्त भएको छ। सूक्ष्म high-relief wood carving, सन्तुलित संरचनात्मक विन्यास तथा उत्कृष्ट iconographic composition का कारण यो काष्ठद्वार मल्लकालीन भक्तपुरमा धार्मिक कला, वास्तु अलङ्कार तथा राजकीय संरक्षणमा विकसित नेवारी काष्ठकला परम्पराको उत्कृष्ट प्रतिनिधि कृतिका रूपमा परिचित छ ।

समग्र रूपमा यस काष्ठद्वारमा धार्मिक आख्यान, तान्त्रिक प्रतीकवाद, पौराणिक देवदेवी तथा नेवारी काष्ठकलाको अद्वितीय समन्वय अभिव्यक्त भएको छ। यसले मल्लकालीन भक्तपुरको कलात्मक समृद्धि, धार्मिक दर्शन तथा परिष्कृत काष्ठकला परम्पराको उच्च स्तरलाई प्रभावकारी रूपमा प्रतिबिम्बित गर्दछ।

तस्विर ः राजन सिंह, संग्रहालय तथा स्मारक संरक्षण कार्यालय, भक्तपुर