राष्ट्रिय कला संग्रहालय भक्तपुर दरबार क्षेत्र स्थित ऐतिहासिक सिंह ढोका दरबारमा नेपाल सरकार, पुरातत्व विभागद्वारा वि.सं २०१७ साल आषाढ १७ गते राष्ट्रिय कला संग्रहालयको स्थापना भएको हो । भक्तपुर राजदरबारको यो भाग वि.सं १७५४ मा भक्तपुरका प्रसिद्ध राजा भूपतीन्द्र मल्लले बनाउन लगाएका थिए । दरबारको प्रवेशद्वारको दायाँबायाँ नृसिंह र तान्त्रिक भाव झल्कने हनुभैरवको सुन्दर प्रस्तर मूर्तिहरू स्थापित छन । यिनै मूर्तिहरूको अग्रभागमा दायाँबायाँ एक जोडी सिंहका विशाल प्रस्तर मूर्ति स्थापना गरिएकोले यो दरबार सिंह ध्वाखा दरबारका नामले प्रसिद्ध छ । नेपाली मौलिक चित्रहरुको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला संग्रहालयको नामबाट तत्कालीन प्रधानमन्त्री श्री विश्वेश्वर प्रसाद कोइरालाद्वारा उद्घाटन भएको यस संग्रहालयमा हाल प्रस्तरकला कक्ष, काष्ठकला कक्ष र धातुकला कक्ष समेत समावेश गरी राष्ट्रिय कला संग्रहालय नामाकरण गरिएको छ । विशिष्ट मौलिक चित्रकला, काष्ठकला, प्रस्तरकला एवं धातुकलाका सामग्रीहरु प्रदर्शित गरिएकाले यस संग्रहालयको आफ्नो छुट्टै पहिचान रहेको छ ।