राष्ट्रिय कला संग्रहालय, भक्तपुर दरबार क्षेत्र

Government of Nepal

राष्ट्रिय कला संग्रहालय भक्तपुर दरबार क्षेत्र स्थित ऐतिहासिक सिंह ढोका दरबारमा नेपाल सरकार, पुरातत्व विभागद्वारा वि.सं २०१७ साल आषाढ १७ गते राष्ट्रिय कला संग्रहालयको स्थापना भएको हो । भक्तपुर राजदरबारको यो भाग वि.सं १७५४ मा भक्तपुरका प्रसिद्ध राजा भूपतीन्द्र मल्लले बनाउन लगाएका थिए । दरबारको प्रवेशद्वारको दायाँबायाँ नृसिंह र तान्त्रिक भाव झल्कने हनुभैरवको सुन्दर प्रस्तर मूर्तिहरू स्थापित छन । यिनै मूर्तिहरूको अग्रभागमा दायाँबायाँ एक जोडी सिंहका विशाल प्रस्तर मूर्ति स्थापना गरिएकोले यो दरवार सिंह ध्वाखा दरवारका नामले प्रसिद्ध छ । नेपाली मौलिक चित्रहरुको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला संग्रहालयको नामवाट तत्कालीन प्रधानमन्त्री श्री विश्वेश्वर प्रसाद कोइरालाद्वारा उद्घाटन भएको यस संग्रहालयमा हाल प्रस्तरकला कक्ष, काष्ठकला कक्ष र धातुकला कक्ष समेत समावेश गरी राष्ट्रिय कला संग्रहालय नामाकरण गरिएको छ । विशिष्ट मौलिक चित्रकला, काष्ठकला, प्रस्तरकला एवं धातुकलाका सामग्रीहरु प्रदर्शित गरिएकाले यस संग्रहालयको आफ्नो छुट्टै पहिचान रहेको छ ।